
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभलले बुधबार शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा शुभकामना आदान-प्रदानसँगै नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्बन्ध, साझेदारीका विविध आयामहरू तथा भावी सहकार्यको सम्भावनाहरूबारे छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उपराष्ट्रपति यादवले सन् १९४९ मा दुवै मुलुकबीच स्थापना भएको कूटनीतिक सम्बन्ध सुमधुर रहँदै आएको स्मरण गरे । उनले भने, ‘हाम्रो मित्रवत् सम्बन्ध पारस्परिक सम्मान र सहयोगमा आधारित छन् ।’ उनले फ्रान्सको स्वतन्त्रता, समानता र भ्रातृत्वको आधारभूत मूल्यहरूको प्रशंसा गर्दै ती मूल्यहरूले नेपालका राजनीतिक आन्दोलन तथा संघर्षहरूमा उत्प्रेरकको भूमिका निर्वाह गरेको उल्लेख गरे ।
नेपालको पूर्वाधार विकासमा युरोपेली संघमार्फत फ्रान्सले दिएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गर्दै उपराष्ट्रपतिले आगामी दिनहरूमा दुई देशबीचको सम्बन्ध जनताको हितमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले फ्रान्सको आगामी राष्ट्रिय दिवसका अवसरमा फ्रान्सेली राष्ट्रपति तथा जनताप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरे ।
नेपालका लागि फ्रान्सका राजदूत कोर्टेभलले नेपाल र फ्रान्सबीचको सम्बन्ध भ्रातृत्व प्रेम, साझा लक्ष्य र धारणाहरुमा आधारित रहेको बताइन् । उनले भनिन्, ‘ मेरो कार्यकालमा हाम्रा दुई देशबीचको सुमधुर सम्बन्धलाई थप उचाइमा पुर्याउने प्रयास रहनेछ ।’