रोल्पा, असार २५ :

रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्।

गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगरसहितका कर्मचारी असार २३ गते राति करिब ९ बजे रुकुम पूर्वतर्फ गएको र त्यसयता सम्पर्कमा नआएको जानकारी दिएका हुन्।

उनका अनुसार ती कर्मचारीहरू असार २४ गते कार्यालयको भुक्तानीका लागि आवश्यक 'ओटिपी कोड' लिन रुकुम पूर्व जाने भनिएको थियो। तर, उनीहरू बिहान ७ बजेदेखि हालसम्म कार्यालयको सम्पर्कमा नआएको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकाका अनुसार नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि उनीहरू सम्पर्कविहीन भएको प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि कार्यालयले रुकुम पूर्वमा समेत खोजी गर्दा उनीहरू नभेटिएको र सम्पर्क प्रयास गर्दा सबैको मोबाइल फोन स्विच अफ अवस्थामा रहेको जनाइएको छ।

सम्पर्कविहीन हुने कर्मचारीहरू यस्ता छन्:
१. हेमराज घर्तीमगर (प्रमुख प्रशासकीय अधिकृत)
२.हरिश माझी (सहायक प्रशासन पाँचौं)
३. यज्ञप्रसाद कँडेल (सह–लेखापाल)
४. चन्द्रप्रकाश ओली (सव–इन्जिनियर)
५. निशा आचार्य
६. शिव कुमार वली
७. प्रदीप केसी (सवारी चालक)

गाउँपालिकाले उनीहरूको खोजी जारी रहेको र सम्पर्क हुनासाथ जानकारी सार्वजनिक गरिने जनाएको छ। कर्मचारी सम्पर्कविहीन भएपछि कार्यालयको नियमित कामकाज प्रभावित भएको बताइएको छ।