काठमाडौं, असार २६ :

काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक ६ महिनापछि भोलि  दिउँसो २ बजे बस्ने भएको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन)ले बैठकका लागि निर्देशन दिएका हुन्। बैठकमा चालू आर्थिक वर्षको बजेट पेस गरिने तयारी गरिएको छ।

महानगरका सहायक प्रवक्ता ध्रुब कुमार काफ्लेले सूचना औपचारिक रूपमा आइनसके पनि कार्यसूची तयार पार्न निर्देशन आइसकेको जानकारी दिएका छन्। ‘शुक्रबार दिउँसो २ बजेका लागि निर्देशन आएको छ, सूचना आउन बाँकी छ,’उनले भने।

महानगरको कार्यपालिका बैठक स्थानीय सरकार सञ्चालन ऐनअनुसार महिनामा एकपटक बस्नुपर्ने भए पनि गत पुस १४ यता बैठक बसेको थिएन। काठमाडौँ भ्यू टावरको नक्सा पास विवादपछि मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मतभेदका कारण बैठक बस्न सकेको थिएन।

कार्यपालिका बैठक बोलाउने अधिकार मेयरसँग मात्र हुने व्यवस्थाअनुसार उनीकै अडानपछि प्रशासकीय प्रमुख गुरागाईंलाई बैठकअघि छुट्टीमा पठाइएको स्रोतले जनाएको छ। ‘मेयरले कार्यकारीसँग बैठक नगर्ने अडान लिएपछि उहाँलाई छुट्टीमा पठाइएको हो,‘ स्रोतले भन्यो, ‘उहाँले पनि त्यसलाई स्वीकार गर्नुभएको छ।’

गत असार १० गतेभित्र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि महानगरले अहिलेसम्म बजेट सार्वजनिक गर्न सकेको छैन। यसले गर्दा मेयर बालेन विवादमा तानिएका छन्।