
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) ले बर्दिया जिल्लाको समावेशी ग्रामीण विकासका लागि ८० लाख अमेरिकी डलर ( एक अर्ब ७ करोड ) प्रदान गर्ने भएको छ ।
कोइका र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबीच मङ्गलबार समावेशी ग्रामीण विकास परियोजना (आइआरडिपी) का निम्ति उक्त रकम प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
कोरिया सरकारका तर्फबाट कोइकाका देशीय निर्देशक मोह्युन कोङ र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तर्फबाट सहसचिव कालीप्रसाद पराजुलीले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।
परियोजनाको कार्यक्षेत्र बर्दिया जिल्लाका आठ स्थानीय तह हुने कोइकाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
परियोजनाको मुख्य उद्देश्य बर्दिया जिल्लाका समुदायको कृषि उत्पादनको लागि क्षमता अभिवृद्धि, बजार सम्बन्ध स्थापना गरी मूल्य अभिवृद्धिको एकीकरण मार्फत मूल्य शृङ्खलाको स्तरोन्नति गर्ने र पर्यावरणीय पर्यटन पहललाई बढावा दिई दिगो र लचिलो जीविकोपार्जन र स्थानीय अर्थतन्त्रको प्रवर्द्धन गर्नु रहेको छ।
कार्यक्रममा देशीय निर्देशक मोह्युनले परियोजना नेपालको ग्रामीण विकासमा कोरियाली ज्ञान र प्रविधि ल्याउने अवसर हुने बताउँदै नवलपरासीमा पनि यस्तै परियोजनाको सफल कार्यान्वयन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको स्मरणसमेत गरिएको थियो ।
कोरिया सरकारले सन् १९९१ देखि कोइका मार्फत नेपाल सरकारलाई स्वास्थ्य, कृषि, शिक्षा (प्राविधिक), व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधिका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।