काठमाडौं, असार २७ :

प्रधानमन्त्री केपी ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताएका छन् ।

विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिकीकरण कार्यक्रममा शुक्रबार उनले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको धारणा राखे ।

ओलीले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताए । उनले अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको पनि बताए । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको ओलीको भनाइ छ ।

‘आलोचनात्मक चेत होइन, विश्लेषणात्मक चेत चाहिन्छ हामीलाई । आलोचनात्मक चेतले आक्रान्त भइसक्यो देश । जेमा पनि आलोचना । जेमा पनि आलोचना । जेमा पनि आलोचना होइन । रचनात्मक सुझाव आवश्यक छ । रचनात्मक टिप्पणी जरुरी छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिन्छ । यहाँनेर कमजोरी भयो भनेर देखाउन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको पनि बताए । प्रजनन क्षमता बढी भएको बेलामै सन्तान जन्माउन राम्रो हुने उनको भनाइ छ ।