
काठमाडौं, असार २७ :
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विद्युत्को खपत बढाउन ईभीको करलाई स्थिर राखिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजना र पुरस्कार वितरण तथा बजेट र मौद्रिक नीति समन्वय अन्तर्क्रिया कार्यक्रममा उनले बजेटमार्फत नेपालको ऊर्जा खपत बढाउन विद्युतीय सवारीसाधनलाई प्रवर्धन गरेको बताए ।
उनले आफू करका नीति र करका दरमा स्थिर नीति लिएको दाबी पनि गरे । अर्थमन्त्रीले बजेट ल्याउने मात्रै नभई कार्यान्वयनसमेत जिम्मेवारीमा रहेको बताए । आगामी वर्षको बजेट कार्यन्वयनको तयारी गरिरहेको उनको भनाइ छ ।
बजेटमा टेक एन्ड पेको विषयमा अन्योल भए पनि स्पष्ट पारेसँगै बैंक तथा वित्तीय संस्था, ऊर्जा उत्पादकलगायत सबै सन्तुष्ट रहेकाले ठीक हुँदै गएको अर्थमन्त्री पौडेलको दाबी छ ।