काठमाडौं, असार २७ :

नेकपा एमालेका पूर्वउपाध्यक्षसमेत रहेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम अन्तत: नेकपा एकीकृत समाजवादीमा समाहित हुने भएका छन् ।

नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानकाबीच एकता हुने भएको हो ।

पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले आज (शुक्रबार) समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

दुवै पार्टीका नेताले हस्ताक्षर गर्नुभएको सहमतिपत्रमा भनिएको छ, ‘राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको र नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) मा एकताबद्ध हुने सहमति गरिएको हो ।’

आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी एकताको घोषणा गर्नेगरी समझदारी भएको एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । उनका अनुसार लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकताका लागि औपचारिक तथा अनौपचारिक छलफल गरिएको थियो ।