काठमाडौं, असार २८ :

देशभर आज (शनिबार) दिउँसो आंशिकदेखि साधारणत: बदली रहनेछ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

यसैगरी शनिबार राति देशभर आंशिकदेखि साधारणत: बदली रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, मधेस र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ ।