काठमाडौं, असार २८ :

मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदरभन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागले जुन १ तारिखदेखि जुलाई १० सम्मको मनसुनको अवस्था विश्लेषण गरी जारी गरेको पुनरावलोकनमा सरदरभन्दा कम वर्षा भएको देखिएको हो । सरदर वर्षा भन्नाले कुनै केन्द्रमा मापन गरिएको ३० वर्षको औसत वर्षालाई जनाउँछ । यस वर्षको मनसुन मे २९ तारिखमा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो । मनसुन आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो सुरु भएको थियो ।

जल तथा मौसम विज्ञान विभागका मुलुकभर पाँच सयभन्दा बढी वर्षा मापन केन्द्र छन् । विभागले दैनिक अनुगमन गरेका २० केन्द्रहरुमध्येको तथ्यांकहरुका आधारमा मधेस प्रदेशमा सरदरभन्दा कम र सुदूरपश्चिम प्रदेशका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिएको छ । समग्रमा विश्लेषण गर्दा मुलुकभर यो अवधिमा सरदर भन्दा कम वर्षा भएको हो ।

मुलुकभर मनसुन अवधिभर १,४७९.७ मिलिमिटर वर्षा हुनुलाई सरदर वर्षा मानिन्छ । अहिलेसम्म सरदर वर्षाको जम्मा २६.४ प्रतिशत मात्रै वर्षा भएको छ । जुलाई ११ सम्मको सरदर वर्षा ३९१.३ मिलिमिटर अर्थात् ८५ प्रतिशत भएको छ । यो अवधिमा गत वर्ष ४६०.३ मिलिमिटर वर्षा भएको थियो ।

मनसुन प्रक्षेपणको विश्लेषण मनसुन अवधिभरलाई गरिने भएकाले अहिले नै निष्कर्षमा पुग्न नमिल्ने भए पनि नमुना अनुगमनका वर्षामापन केन्द्रको तथ्यांकहरुका आधारमा यो अवधिमा सरदरभन्दा कम वर्षा भएको भन्न सकिने विभागका प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताइन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले मौसमविद् पोखरेलले सुदूरपश्चिमका केही भूभागमा पछिल्ला केही दिनमा सरदरभन्दा बढी वर्षा भएको रेकर्ड भए पनि मुलुकभरको समग्र विश्लेषणमा सरदरभन्दा कम वर्षा भएको देखिएको बताइन् ।

‘१८ जेठबाट १४ असोजसम्म मनसुन अवधिको हामीले प्रक्षेपण गरेका थियौँ । अहिले सम्मको अवस्था हेर्दा प्रक्षेपण गरे अनुसार वर्षा भएको देखिँदैन । १० जुलाईमा समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर हामीले अपडेट निकालेका थियौ । तराईका भू भागमा वर्षा सरदर भन्दा कम हुने सम्भावना छ भनेर निकालेका छौँ । मधेस प्रदेशमा हामीले लगभग सरदर वर्षा हुने भनेर दिएका थियौं,’ उनले भनिन्, ‘१० जुलाईमा हामीले समग्र मनसुनको अवस्था कस्तो हुन्छ भनेर अपडेट पनि निकालेका थियौँ । मधेस प्रदेशका अधिकांश स्थानहरुमा सरदर भन्दा कम वर्षा हुने सम्भावना छ भनेर हामीले अपडेट गरेका छौँ । समग्र मनसुन सिजनको प्रक्षेपण हो त्यही भएर अहिले नै निष्कर्षमा पुगिँदैन । किनभने अन्तिमको महिना धेरै वर्षा हुन पनि सक्छ । जस्तै ९० देखि ११० प्रतिशतसम्म वर्षा भएकोलाई हामीले सामान्य भन्छौँ । ११० बाट १११ वा ११२ भएको खण्डमा हामीले सरदरभन्दा बढी वर्षा भयो भन्छौँ हामीले । अहिले नै निष्कर्षमा आउनु ठीक हुँदैन । तर अहिलेसम्मको वर्षा सरदरभन्दा कम नै देखिएको छ । मधेस प्रदेशका कतिपय स्थानमा त खडेरीजस्तै देखिएको छ । पश्चिमका भूभागका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको देखिए पनि समग्रमा सरदर भन्दा कम वर्षा भएको छ ।’

विभागले दैनिक अनुगमन गरेका वर्षामापन केन्द्रमध्येको विराटनगर विमानस्थलको वर्षामापन केन्द्रका अनुसार जुलाई १ देखि ११ सम्म ४.६ प्रतिशत वर्षा भएको छ । जुन १ देखि जुलाई ११ सम्म २११.२ मिलिमिटर वर्षा भएको छ । विराटनगर विमानस्थलको सरदर वर्ष १,४०६.२ मिलिमिटर हो । सन् २०२४ को मनसुन अवधिमा २,१४२.४ मिलिमिटर वर्षा भएको थियो । यो १५२ प्रतिशत थियो ।

त्यसैगरी जनकपुर विमानस्थलको तथ्यांकअनुसार जुन १ देखि जुलाई ११ सम्म १५४.४ मिलिमिटर वर्षा भएको छ । अघिल्लो वर्ष यही अवधिमा सो स्थानमा ५५४.४ मिलिमिटर वर्षा भएको थियो ।

त्यसैगरी सिमरा विमानस्थलको वर्षामापन केन्द्रमा रेकर्ड भएको तथ्यांकअनुसार, जुन १ देखि जुलाई ११ सम्म २६१.१ मिलिमिटर वर्षा भएको छ । गत वर्ष यो अवधिमा ४२६.२ मिलिमिटर वर्षा भएको थियो ।

यसैबीच, मधेस प्रदेश सरकारले असार २६ गते मन्त्रिपरिषद् बैठकबाट मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । मनसुनको समयमा वर्षा नहुँदा धान रोपाइँ हुन नसकिरहेको र रोपिएका खेतमा पनि धाँजा फाट्न थालेपछि सरकारले सुक्खाग्रस्त  क्षेत्र घोषणा गरेको हो । सरकारले विशेष राहत प्याकेजको व्यवस्था गर्न संघीय सरकारसँग माग पनि गरेको छ ।