काठमाडौं, असार २८ :

आमाको नामबाट नागरिकता पाउने गरी नेपाल नागरिकता दोस्रो संशोधन विधेयक प्रतिनिधिसभाबाट पास भएपछि नागरिकताविहीन संघर्ष समितिले गृहमन्त्री रमेश लेखकलाई भेट गरेको छ ।

समितिका अध्यक्ष ई. इन्द्रजित साफीलगायत पदाधिकारीको टोलीले गृहमन्त्री लेखकलाई शनिबार भेटेर ऐतिहासिक कार्यका लागि बधाइ दिएका छन् । भेटमा आमाको नामबाट नागरिकता दिने व्यवस्थासहित लाखौं नागरिकताविहीनलाई नागरिक बनाउन नागरिकता ऐन संशोधन विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित भएर राष्ट्रिय सभामा पेस भएको भन्दै समितिका पदाधिकारीहरुले खुसी जनाएका हु्न् ।

गृहमन्त्री लेखकले नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको बताउँदै अझ पनि विधेयकमा केही परिमार्जन गर्नुपर्ने भए आफू त्यसका लागि तयार रहेको बताए । ‘नेपालको संविधानअनुसार नागरिकता पाउनुपर्ने तर कानुन नभएका कारण नपाएको छ भने त्यसलाई पनि परिमार्जन गर्ने गरी छलफल गर्नुपर्छ,’ उनले भने ।

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ प्रतिनिधिसभा बैठकबाट पारित भइसकेको छ ।