काठमाडौं, असार २८ :

नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापारको लाभ सबैलाई समान रूपमा वितरण गर्नुपर्ने बताएका छन्  ।

थाइल्याण्डमा आयोजित एसिया क्लाइमेट समिटलाई आज सम्बोधन गर्दै महामन्त्री थापाले विगतको स्वच्छ विकास सयन्त्रमा नेपालले अपेक्षित लाभ लिन नसकेको उल्लेख गरे ।

उनले भने  “यसपटक भने विगतका गल्तीहरू नदोहोर्याउने गरी कार्बन व्यापारसँग सम्बन्धित काम गर्ने हाम्रो चाहना रहेको कुरा मैले जानकारी गराएँ । नेपालसँग कार्बन क्रेडिटमार्फत विकास वित्तको ठूलो अवसर छ । हाम्रो वन–जङ्गल, नवीकरणीय ऊर्जा र दिगो परियोजनाहरूले कार्बन व्यापारमा महत्वपूर्ण योगदान दिन सक्छ ।”

सम्मेलनमा विभिन्न देश र कम्पनी नेपाल सरकार र निजी क्षेत्रसँग काम गर्न इच्छुक रहेको पाइएको महामन्त्री थापाले बताए । यो विषय समय–संवेदनशील भएकाले ढिलाइ गर्नुनहुने उल्लेख गर्दै उनले त्यसका लागि हामीले आफ्नो तर्फबाट गर्नुपर्ने काम छिटो सम्पन्न गर्न जरुरी रहेको र तत्काल काममा जुट्नुपर्ने बताए । महामन्त्री थापा आजै स्वदेश फर्कनुभएको छ ।
–––