काठमाडौं, असार २९ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र फेरि विवाद चुलिएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत कदम चालेको आरोप लगाउँदै असन्तुष्ट समूह निर्वाचन आयोगमा पुगेको छ।

संस्थापनइतर समूहले शनिबार अलगै भेला गरी लिङ्देनको निर्णयहरूलाई मनोमानी भन्दै विरोध जनाएको थियो। सोही भेलाको निर्णयअनुसार असन्तुष्ट पक्ष आइतबार निर्वाचन आयोग पुगेको हो।

पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवलशम्शेर राणा, र अनुशासन समितिबाट हटाइएका नवराज सुवेदी लगायतका नेताहरू आयोगसँग छलफलमा छन्।

अध्यक्ष लिङ्देनले हालै प्रवक्ता सगुन सुन्दर लावतीलाई बर्खास्त गर्नुका साथै सुवेदीलाई अनुशासन समिति संयोजकबाट हटाएर रोशन कार्कीलाई जिम्मेवारी दिएका थिए। असन्तुष्ट समूहले यस्ता निर्णयहरू पार्टी विधानविपरीत रहेको दाबी गर्दै आयोगमा उजुरी दर्ता गराएको हो।