काठमाडौं, असार २९ :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपालीहरू जीवित रहेसम्म आदिकवि भानुभक्त आचार्यको महत्व रहिरहने बताएका छन् । आइतबार २१२ औं भानु जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भानुजयन्ती मनाउन मूल तात्पर्य आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैलाउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वलाई सम्झनु रहेको बताए । उनले जुन बेलासम्म नेपाल, नेपाली, नेपाली भाषा रहन्छ तबसम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहने बताए । उनले हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न नसक्ने र आफ्नो कालखण्डलाई नेतृत्व गर्ने बताए ।

भानुभक्तले पनि साहित्यमा आफ्नो कालखण्डको नेतृत्व गरेको बताए । आफूले नेपाली भाषाको नेतृत्व गरेर नेपाली भाषालाई फैलाउने मूर्धन्य व्यक्तित्व भानुभक्त भएको बताए । भानुभक्त आचार्यलाई सम्झनु भनेको नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उहाँप्रति श्रद्धा अर्पण गर्नु रहेको बताए ।

मन्त्री पन्तले भने, ‘भानु जयन्ती मनाउन मूल तात्पर्य के हो भने हामीले आफ्नो भाषाको जगेर्ना गर्ने, आफ्नो भाषा फैल्याउने, आफ्नो भाषामा साहित्य सिर्जना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो । जुन बेलासम्म हामी नेपाली जीवित रहन्छौं, जुन बेलासम्म नेपाल भन्ने देश रहन्छ र जुन बेलासम्म नेपाली भाषा रहन्छ, त्यस बेलासम्म भानुभक्तको महत्व र ऐतिहासिकता रहन्छ । हरेक व्यक्तिले सधैँ नेतृत्व गर्न सक्दैनन्, उनीहरुले आफ्नो कालखण्डलाई नेतृत्व गर्दछन् । त्यो हरेक क्षेत्रमा हुन्छ, साहित्यमा पनि हुन्छ ।’

भानुभक्त आचार्य आफ्नो कालखण्डमा साहित्यको पाटोलाई नेतृत्व गरेर नेपाली भाषा फैलाउने मूर्धन्य व्यक्तित्व भएको उनले चर्चा गरे । ‘उनलाई सम्झनु भनेको हामी नेपाली भाषा बोल्ने, नेपाली भएर बस्ने सबैले उनीप्रति श्रद्धा अर्पण गर्नु हो’ उनले भने । मन्त्री पन्तले विभिन्न भाषाहरु मर्दै गइरहेको बताए । भाषालाई समृद्ध बनाइ र संरक्षण गर्ने चुनौती रहेको उनको भनाइ छ ।