काठमाडौं, असार २९ :

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओली सहभागी बनेको स्पेनको कार्यक्रममा गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाल राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ फागुनमा बनेको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् । २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै उनले प्रश्न गरिन् ।

उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । सुशासन आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने उनको माग छ ।

‘हामीले सदनमा उठाउँदै आएको विषय स्पेनको केसले झन् पुष्टि भएको छ । सबैभन्दा दुःखको कुराचाहिँ सदनमा यत्रो आन्दोलन हुँदा-हुँदै पनि तस्करहरुलाई न डर छ, न भय न त संकोच नै । कसको संरक्षण र अकर्मण्यताले गर्दा यत्रो आँट मानव तस्कर र स्मग्लरहरु पलाएको हो ? सदनको गरिमा त नीलो रिबनभन्दा यसमा खोज्नुपर्ला सभामुख महोदय,’ उनले भनिन्, ‘तस्कर र भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं । तपाईंलाई थाहा थियो कि थिएन ?’

उनले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीसमेत पोलिएको  र संघीय मामिलामन्त्रीको अडियोको समेत निष्पक्ष छानबिन गर्न माग गरिन् ।