काठमाडौं, असार २९ :

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरूको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्यांकन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले आव ०८२/८३ का लागि मौद्रिक नीति ल्याएको भन्दै प्रशंसा गरेको छ ।

मौद्रिक नीतिमा नीतिगत अंकुशभन्दा अनुगमन र सुपरिवेक्षणलाई बढवा दिने गरी अवलम्बन गरिएका सन्तुलित, समयसापेक्ष र उदार, नीतिहरूले बैंकिङ क्षेत्रमा खस्किरहेको मनोबल र आत्मविश्वासलाई उकासेको सिबिफिनको दाबी छ ।

‘यसले आर्थिक एवं बैंकिङ गतिविधिहरूलाई जीवन्त बनाइ दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणमा अग्रसर हुने स्पष्ट मार्गचित्र कोरेको छ,’ सिबिफिनले भनेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले पुँजीकोषमा दबाब झेलिरहनुपरेको विद्यमान अवस्थामा कर्जा लगानी क्षमता बढाउने, कर्जा व्यवस्थापनलाई सहज बनाउने र पुँजीकोष सुदृढ बनाई वित्तीय स्थायित्व कायम गर्ने कार्यलाई प्राथमिकता राख्नु र बैंकदर तथा नीतिगत दर घटाइनुले कर्जा विस्तारमा सहजता ल्याई मौद्रिक नीतिले लिएको कर्जा विस्तारको लक्ष्य सहजरुपमा प्राप्त हुने सिबिफिनको अपेक्षा छ ।