काठमाडौं, असार ३० :

प्रमुख प्रतिपक्षी दलका नेता एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संसद्‌मा विशेष सम्बोधन गर्दै अघिल्लो सरकारले थालेका योजनाबाट प्राप्त परिणामबाहेक वर्तमान सरकार आफैंले कुनै उल्लेखनीय काम नगरेको आरोप लगाए । सम्बोधनका क्रममा उनले यो वर्ष अर्थतन्त्रका लागि ‘अवसर खेर फालिएको’ वर्ष भएको टिप्पणी गरे ।

उनले भने, ‘रोजगारीको अवसर सिर्जना नभएकाले वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ, र त्यसैकारण रेमिटेन्स बढेको देखिएको हो । तर सरकारले यसलाई आफ्नै उपलब्धि भनेर भ्रम छर्न खोजेको छ ।’

उनले ब्याजदर घट्दा पनि कर्जा प्रवाह नहुनु, बैंकहरूमा ६-७ खर्ब रुपैयाँ थुप्रिनुजस्ता तथ्यांक प्रस्तुत गर्दै सरकारले स्रोत साधनको सदुपयोग गर्न नसकेको आरोप लगाए । सरकारको नीतिका कारण पुँजी पलायन हुने, बचत निरुत्साहित हुने, कमजोर प्रतिफल भएका क्षेत्रमा लगानी हुने र त्यसले अर्थतन्त्रलाई अझ संकटमा पुर्‍याउने खतरा औंल्याए ।

दाहालले उत्पादनमूलक क्षेत्र, रोजगारी सिर्जना र दिगो विकासजस्ता पक्षलाई बेवास्ता गर्दै सरकार घरजग्गा र सेयर कारोबारमा मात्र ध्यान केन्द्रित गरेर राष्ट्रिय अर्थतन्त्र निर्माण नहुने बताए ।

उनले कीर्तिपुरस्थित क्रिकेट रंगशालाको उदाहरण दिँदै भने, ‘मेरो सरकारले फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर नयाँ सरकारले त्यसलाई प्रतिष्ठाको विषय बनाउँदै ३०० दिनमा निर्माण सकिने घोषणा गर्‍यो । एक वर्ष बितिसक्दा न फ्लडलाइट जडान भयो न प्यारापेट बन्यो ।’

त्यसैगरी राष्ट्रिय गौरवका आयोजना पनि सरकारको प्राथमिकतामा नपरेको उनको आरोप छ । सुनकोसी-मरिन डाइभर्सनदेखि महाकाली करिडोरसम्मका योजनाको प्रगति अत्यन्तै कमजोर रहेको उल्लेख गरे । उनले भने, ‘प्रगति अधिकांश आयोजनामा ५० प्रतिशतभन्दा कम छ, कतिपय त १० प्रतिशत पनि नाघेका छैनन् । बैठक बसेर निर्देशन दिएर मात्र काम अघि बढ्दैन । नियमित अनुगमन र ठोस पहल चाहिन्छ ।’

उनले वर्तमान सरकार योजनाबद्ध, उत्तरदायी र क्रियाशील ढंगले काम गर्न नसकेकोले देशले आर्थिक अवसर गुमाएको र विकासको गति सुस्त भएको टिप्पणी गरे ।