कन्चनपुर, असार ३१ :

कञ्चनपुरका नौवटै स्थानीय तहमा रहेका छाउगोठ भत्काईने भएको छ । त्यस्को लागि  विशेष अभियान सञ्चालन गरिने  जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ ।

ती सबै स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि जिल्ला प्रशासन कार्यालयले पत्राचार गरिसकेको छ ।

परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न छाउगोठ भत्काईने अभियान सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ । पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध समेत गरिएको छ ।

केहि दिन अघि कृष्णपुर नगरपालिका–१ निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट मृत्यु भएको थियो ।  यो घटनापछि  जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो । यस अघि पनि छाउगोठमा बस्दा धेरै जना किशोरीको ज्यान गएको छ ।