
दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ ।
बबई गाउँपालिका ४, पुरन्धारा छहरानजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २ का १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर छन् ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरूको नदीमा डुबेर मृत्यु भएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए । शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ ।
त्यसैगरी मोटरसाइकल दुर्घटनामादुई किशोरको मृत्यु भएको छ । रामपुर-घोराही सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका ८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो ।
दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा.७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका ४, सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवै जनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।