
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारणसभामा मंगलबार उनले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने धारणा राखे ।
लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने देउवाको भनाइ छ । उनले उत्पादित विद्युत्को खपत र व्यापार गर्ने दायित्व सरकारको भएको पनि उल्लेख गरे । यसका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु जरुरी रहेको देउवाले बताए । जलविद्युत् आयोजनाहरुको आईपीओ निष्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्ने बताए । ऊर्जा क्षेत्र नेपालमा प्रकृतिले दिएको सम्पत्ति भएको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले ग्रिन इनर्जीमा जोड दिन पनि आग्रह गरे ।
‘अहिले उत्पादन विद्युत् खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ । लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्ने कुरै छैन,’ उनले भने, ‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई पनि नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ । सेयर निष्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै सेयर निष्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन भन्ने मान्यता छ । नेपालका लागि ऊर्जा अत्यन्त महत्त्वपूर्ण प्रकृतिले दिएको सम्पत्ति हो । ऊर्जाको विकासका लागि हामी अघि बढ्नुपर्छ । ग्रिन इनर्जीमा ध्यान बढी दिनसक्यौँ भने हामीलाई राम्रो हुन्छ ।’
सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको बताए । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाइर्ए थप प्रोत्साहित गर्नुपर्ने देउवाको भनाइ छ ।निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुसीको कुरा भएको उल्लेख गर्दै आज देशभित्र लोडसेडिङ नरहेको दाबी पनि गरे ।