काठमाडौं, असार ३१ :

पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्यादेवी भण्डारीले तत्कालीन समयमा संसद् विघटन गर्दा आफूलाई कुनै दबाब नरहेको, मन्त्री परिषदको सिफारिसलाई कार्यान्वयन मात्र गरेको बताएकी छिन् ।

मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा मङ्गलबार गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन्। उनले आफूले मन्त्रीपरिषद्ले निर्णय गरेको कुरालाई कार्यान्वयन गरेको र कुनै दबाब नरहेको स्पष्ट पारिन् । देशलाई के गर्दा निकास मिल्छ भन्नेकुरा छलफलको विषय हुनसक्ने बताइन् । आफूले संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रीपरिषद्‍बाट आएको निर्णय कार्यान्वयन गरेको सुनाइन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘जहाँसम्म संसद् विघटनको कुरा हो । यसले मलाई पछ्याइरहन्छ भन्नेकुरा मलाई जानकारी छ । २०१७ सालको, २०५१ सालको कुरा पनि आइरहन्छ । म राष्ट्रपति भएको बेलामा पनि संसद् विघटन भएको छ। दुई पटक । त्यसलाई मैले कुनै प्रेसर, दबाबभन्दा पनि मन्त्री परिषद्ले निर्णय गरेर ल्याएको कुरा कार्यान्वयन गरेको हो । जे व्यवस्था छ त्यहीअनुसार गरेको हो ।’

संवैधानिक विधि व्यवस्थाअनुसार मन्त्रिपरिषद्‍बाट आएको निर्णय आफूले कार्यान्वयन गरेको उनले प्रष्ट पारिन् । फाउन्डेसनले मदन भण्डारीको ७५ औं जन्मजयन्तीको मूल समारोह समितिको संयोजकमा डोरमणि पौडेललाई तोकेको छ । समितिमा ७५ जना सदस्य रहने बताइएको छ ।