काठमाडौं, असार ३२ :

राष्ट्रपति रामचन्द्र पौडेलले संसद्‌बाट अत्यावश्यक ऐन कानुन बनाउने काममा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँगको भेटमा उनले संसद्‌मा डेडलकको अवस्था आउन नदिई आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसद्‌प्रति जनताको भरोसा जागृत गराउने बताए ।

‘यसतर्फ संसदीय गतिविधिमा अहोरात्र खटिनुभएका तपाईंहरूको भूमिका जनप्रतिनिधि, संसदीय संरचना र संसदीय गतिविधिलाई यसैतर्फ प्रेरित गर्ने खालको हुनेछ भन्ने मैले अपेक्षा गरेको छु,’ उनले भने । नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको उनको भनाइ छ ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद् जनताका आवाज मुखरित गर्ने र आवश्यक कानुन बनाउने थलो भएको भन्दै संसद र यसका समितिमार्फत आवश्यक कानुन बनाउने र जनताका जल्दाबल्दा समस्याबारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण गर्ने तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको धारणा राखे ।