
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैँ लागिपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालका पदाधिकारी एवं सदस्य सम्मिलित प्रतिनिधिमण्डलसँग उहाँले आज भेट गर्दै विगत लामो समयदेखि सो क्षेत्रका नागरिकको स्वास्थ्य, महिला अधिकार, प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व लगायतका क्षेत्रमा काम गर्दै आएको स्मरण गर्नुभयो ।
आफू कुनै सरकारी पदमा हुँदा या नहुँदा पनि यस क्षेत्रको विकास गरी स्थानीय नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समयमा नेपालमा आत्महत्या गर्ने व्यक्तिको सङ्ख्या बढ्दै गएको देखिएको र आत्महत्याको दर अन्यत्रको तुलनामा सुदूरपश्चिममा धेरै रहेको तथ्य बाहिर आएकाले यो अवस्थाको निराकरणका लागि काम गर्न पनि मञ्चलाई आग्रह गर्नुभयो ।
परराष्ट्रमन्त्री डा राणाले सुदूरपश्चिम क्षेत्रको विकासका पक्षमा त्यहाँका केही स्थानीय परियोजना तथा नाकाका विषयमा भारत भ्रमणका क्रममा भारतीय उच्च सरकारी तहसम्म कुरा उठाएकोमा प्रतिनिधिमण्डलले विशेष धन्यवाद ज्ञापन गरेको थियो ।