
काठमाडौं, असार ३२ :
प्रहरीले ठुलो परिमाणमा हजार दरका नक्कली नेपाली नोटसहित कारोबारमा संलग्न गिरोहका नाइकेलाई पक्राउ गरेको छ । प्रहरीले हजार दरका नक्कली नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जाजरकोटको कुसे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी र सोही ठाउँका ३३ वर्षीय रामबहादुर सिंह रहेका छन् ।
विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा प्रहरीले उनीहरूलाई १ हजार २ सय ९३ वटा नक्कली हजार दरका नोटसहित पक्राउ गरेको हो । साथै, अनुसन्धानका क्रममा उनीहरूले लुकाएर राखेको १५ पोका अफिम (कुल १९ किलोग्राम) पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।