
फाइल तस्बिर।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्न सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौंमा बुधबार महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआइपी) सम्मान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । मुलुकको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण बनाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
निजी क्षेत्रले व्यवसायिक लाभका लागि मात्र नभई मुलुकमा विदेशी मुद्रा भित्र्याउने, वस्तु तथा सेवा निर्यात गर्ने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने लगायत राष्ट्रको हितमा काम गरिरहेको बताए । उनले सरकार र निजी क्षेत्रबीचको सहकार्यमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्टि आकांक्षा पूरा हुने विश्वास पनि व्यक्त गरे ।
उनले भने, ‘यो देशमा निजी क्षेत्रले गर्ने हरेक क्रियाकलनाप हेर्दा के लाग्न सक्छ भने निजी क्षेत्रले आफ्नो व्यवसाय र फाईदाको लागि गरेको होला भन्ने पनि हुनसक्छ । तर निजी व्यवसायीहरुले देश विकासको लागि चाहे विदेशी मुद्रा भित्र्याउने कुरा गरौं चाहे एक्सपोर्टको कुरा गरौं उनीहरुले आफ्नो व्यक्तिगत फाइदाको लागि भन्दा पनि नेपाल र नेपाली जनताको हितका लागि योगदान गर्ने भएको हुनाले नेपाल सरकारका पोलिसी मेकर र अन्य सरोकारवाला निकयाहरुले निजी क्षेत्रलाई लगानी गर्नको लागि इन्करेज गर्नको लागि कन्जुस्याइँ गर्न नहुने मेरो धारण छ । यसले कर उठाउने, रोजगारी सिर्जना गर्ने र वस्तुको निर्यातमा समेत महत्वपूर्ण योगदान हुनेछ । यसतर्फ माननीयमन्त्रीज्युको ध्यानाकर्षण गर्न चाहन्छु ।’
उनले नीति निर्माण तहका निकाय र सरकारी संयन्त्रलाई निजी क्षेत्रलाई लगानी गर्न उत्साहित गराउनेतर्फ ध्यान दिन आग्रह गरे ।
