
इस्लाम समुदायको पवित्र पर्व ईद अल–अदाहको अवसर पारेर संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका १२० नेपाली नागरिकलाई आम माफी दिएको छ। अबुधाबीस्थित नेपाली दूतावासका अनुसार उनीहरूको बाँकी कैद सजाय माफ गरिएको हो।
गम्भीर अपराधमा संलग्न नभएका र चालचलनमा सुधार देखिएका कैदीहरूलाई यूएई सरकारले विशेष अवसरमा आम माफी दिने परम्परा पछ्याउँदै आएको छ। यूएईमा रोजगारीका लागि गएका नेपालीहरू विभिन्न कारणले कानुनी उल्झनमा परेर जेल पर्ने गरेका छन् ।
दूतावासले आम माफीप्रति खुशी व्यक्त गर्दै यूएई सरकारप्रति धन्यवाद प्रकट गरेको छ। यस किसिमको आम माफीले उनीहरुलाई नयाँ जीवन सुरु गर्न उत्साह मिल्ने विश्वास गरिएको छ।
यूएई सरकारले यसअघि पनि रमजान, राष्ट्रिय दिवस लगायत विशेष अवसरहरूमा सजाय भुक्तान गरिरहेका गैर–गम्भीर अपराधमा संलग्न कैदीहरूको सजाय माफ गर्दै आएको छ।
नेपालबाट रोजगारीका लागि यूएई पुगेका हजारौं नेपालीहरूमध्ये केहीले कानुनी समस्या भोग्नुपरेको पाइन्छ। यस्तो अवस्थामा आम माफी जस्ता निर्णयहरूले उनीहरूका परिवारमा समेत खुसी ल्याएको छ।