काठमाडौं, साउन १ :

आर्थिक वर्ष ०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्था छ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।

सरकारले २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।

आर्थिक वर्ष ०८१/८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष ०८०/८१ को भन्दा यो एक खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११.३३ प्रतिशत वृद्धि हो ।

आर्थिक वर्ष ०८०/८१ मा १० खर्ब ५८ अर्ब राजस्व संकलन भएको थियो । ०८१/८२ मा १४ खर्ब १९ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अर्ध वार्पिक समीक्षामा संशोधन गरी १२ खर्ब ८६ अर्बको लक्ष्य तय गरिएको थियो । संशोधित लक्ष्यअनुसार ९१.६० प्रतिशत राजस्व संकलन भएको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्रीले विपद, अन्तर्राष्ट्रिय परिस्थितिले गर्दा चुनौतीहरु हुँदाहुँदै पनि अघिल्लो आर्थिक वर्षको तुलनामा उत्साहजनक रुपमा राजस्व संकलन भएको बताए । उनले भने, ‘तयारी सुरु गरिसकेका छौं । चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी अघि बढ्नेछौं ।’

चालु आवमा १३ खर्ब १५‍ अर्ब राजस्व संकलनको लक्ष्य छ । आर्थिक वर्ष ०७१/७२ मा ४ खर्ब ५ अर्ब,  ०७२/७३ मा ४ खर्ब ८१ अर्ब, ०७३/७४ मा ६ खर्ब ९ अर्ब, ०७४/७५ मा ७ खर्ब २६ अर्ब, ०७५/७६ मा ८ खर्ब २९ अर्ब राजस्व संकलन भएको थियो ।

त्यसैगरी ०७६/७७ मा ७ खर्ब ९३ अर्ब, ०७७/७८ मा ९ खर्ब ३५ अर्ब, ०७८/७९ मा १० खर्ब ६६ अर्ब, ०७९/८० मा ९ खर्ब ५७ अर्ब र ०८०/८१ मा १० खर्ब ५८ अर्ब रुपैयाँ संकलन भएको थियो ।