काठमाडौं, साउन १ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब भाषण मात्र गरेर होइन, जनताको अपेक्षाअनुसार छिटो र प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आएको बताएका छन् ।

विद्युत् विकास विभागको ३२औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा उनले भने, ‘हामीले भाषण धेरै गर्‍यौं, अब साँचिकै काम गर्ने समय हो । यदि नीति र नियमले काम रोकिएको छ भने तिनमा सुधार गरेर भए पनि अघि बढ्नुपर्छ । ऊर्जा अब केवल उज्यालो दिने माध्यम होइन, यो मुलुकको समृद्धिसँग गाँसिएको विषय हो ।’

मन्त्री खड्काले देशभरको हरेक चुलोमा विद्युत् पुगोस् भन्ने सरकारको लक्ष्य रहेको उल्लेख गरे । उनले भने, ‘ऊर्जाको आवश्यकता रोकिने विषय होइन, ढिलाइ नगरौं, आवश्यक निर्णयहरू तत्काल लिई तीव्र गतिमा अघि बढौं ।’

मन्त्री खड्काले वर्तमान सरकारको प्राथमिकता ‘देशको समृद्धि साझेदारीको आधारमा सुनिश्चित गर्ने’ रहेको उल्लेख गरे । ‘हामीसँग जे छ, त्यसको सदुपयोग गर्न सक्ने हो भने ऊर्जा नै व्यापार र समृद्धिको मूल स्रोत बन्न सक्छ,’ उनले भने, ‘एआई (कृत्रिम बौद्धिकता) को युगमा प्रवेश गरिसकेका छौं, यो युग चलाउन ऊर्जा अनिवार्य छ । त्यसैले हामीले उत्पादन मात्र होइन, प्रशारण र वितरणतर्फ पनि विशेष ध्यान दिनुपर्छ ।’

उनले जमिन अधिग्रहण, प्रसारण लाइन विस्तार र संरचनागत अड्चनलाई हटाउन नीति-नियमको पुनरावलोकन गर्ने स्पष्ट संकेत दिए । उनले निजी क्षेत्रको योगदानलाई समेत मूल्यांकन गर्दै भने, ‘सरकार र निजी क्षेत्रको सहकार्यले मात्रै स्थायित्व र प्रभावकारिता आउँछ ।’

यो वर्ष ४३२ मेगावाट जलविद्युत् तथा ३५ मेगावाट सौर्य ऊर्जा उत्पादन गरेर योगदान दिने निजी तथा सरकारी पक्षप्रति धन्यवादज्ञापन गरे । उनले भने, ‘मुलुकको समृद्धि सरकार वा मन्त्री मात्रको दायित्व होइन, यो साझा प्रयास हो । त्यसैले सबै तह र तप्काले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्छ ।’

ऊर्जा मन्त्रालयअन्तर्गतको विद्युत् विकास विभागले आयोजना गरेको ३२औं वार्षिकोत्सव समारोहमा ऊर्जा मन्त्रालयका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, ऊर्जा तथा जलस्रोत आयोगको सचिवालय प्रमुख सचिव दीनानाथ मिश्र, विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, स्वतन्त्र विद्युत् उत्पादकहरुको संस्था इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, सल्लाहकार, विभागीय प्रमुख, विभिन्न विद्युत् कम्पनीका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रज तथा विशेषज्ञहरूको उपस्थिति थियो ।

कार्यक्रममा विद्युत् विकास विभागले प्रकाशन गरेको ‘विद्युत् प्रवर्द्धन स्मारिका-२०८२’ विमोचन गरिएको थियो । यस्तै सेवानिवृत्त कर्मचारीहरु मधुप्रसाद भेटवाल (सचिव पदबाट अवकाश), अरुणकुमार झा (उप-महानिर्देशकबाट अवकाश) र सरिता प्रधानलाई सम्मान गरिएको थियो । त्यसैगरी आव ०८१/८२ मा निर्माण सम्पन्न गरेका २० वटा विद्युत् आयोजनाका प्रवर्द्धकहरुलाई पनि सम्मान गरिएको थियो ।