
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशप्रति आपत्ति जनाएका छन्।
उनले भण्डारीले कुनै परामर्श नगरी दलको राजनीतिमा फर्किनु गम्भीर र प्रणालीमाथि प्रश्न उठाउने विषय भएको बताएका छन्।
ओलीले पत्रकार विजयकुमारसँगको कुराकानीमा भने, ‘पार्टीको अध्यक्ष म हुँ, एमाले पार्टी छ, तर यस्तो विषयमा कुनै परामर्श भएको छैन।’ उनका अनुसार भण्डारीले न पार्टी अध्यक्षसँग परामर्श गरिन्, न त पार्टी संरचनाभित्र नै छलफल भयो।
पूर्वराष्ट्रपति भण्डारीको निर्णयले राष्ट्रपतिको गरिमा र नैतिकताको सवाल उठाएको ओलीको भनाइ छ। उनले भने, ‘राष्ट्रपतिको पद भनेको निष्पक्ष, गरिमामय र देशप्रति उत्तरदायी हुने हो। यस्तो पदबाट फर्केर दलविशेषको कार्यकर्ता हुनु गम्भीर विषय हो।’
ओलीले पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपतिको मर्यादा कायम राख्न प्रयास गरेको स्मरण गर्दै भण्डारीले त्यो अभ्यास उल्ट्याएको टिप्पणी गरे। उनका अनुसार, यस्तो निर्णयले राजनीतिक प्रणाली, संविधान र गणतन्त्रप्रति नै असंवेदनशीलता देखाउँछ।
उनले राष्ट्रपतिजस्तो उच्च पदमा बसेका व्यक्तिहरूले पछि पनि आफ्नो भूमिकामा मर्यादा राख्नुपर्ने धारणा राखे।