काठमाडौं, साउन २ :

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबिच आज एकीकरणको घोषणा हुने भएको छ । आज राष्ट्रिय सभागृहमा एकता घोषणा सभा हुदैछ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र अभियानका संयोजक वामदेव गौतमबीच गत हप्ता भएको भेटमा  सहमतिका लागि सम्झौता भएको थियो । सोही सम्झौता बमोजिम आज  एकता घोषणा हुन लागेको हो । गौतम एमाले र नेकपा माओवादीबीच एकता हुँदा कुनै पार्टीमा नलागि नेकपा एकता अभियान सुरु गर्नुभएको थियो ।

दुई नेताबीचको सहमतिमा गौतमलाई तेस्रो वरियताको वरिष्ठ नेताको रुपमा राखिने सहमति भएको । हाल नेपाल  पहिलो वरीयता र सम्मानित नेता झलनाथ खनाल दोस्रो वरीयतामा रहेका छन् ।

एकता सम्बन्धी सहमति पत्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष  नेपाल र  अभियानका अध्यक्ष बामदेव गौतमले गत असार २७ गते हस्ताक्षर गरेका थिए ।

यस अघि  नै गौतम नेकपा एकीकृत समाजवादी जान खोजेका थिए । तर आफुले खोजे जस्तो पद नपाएपछि एमालेसंग पनि कुराकानी गर्न पुगे ।  एमालेले पनि अहिले जिम्मेवारी दिने तर विधान महाधिवेशनले पद व्यवस्थापन गर्ने भनेको थियो । पार्टीले निर्णय नै गरेपनि जिम्मेवारी दिन आनाकानी गर्दै आएको थियो ।

गौतमले २०७८ मा नेकपा एमाले विभाजित भएपछि असन्तुष्ट व्यक्त गर्दै  पार्टी छाडेका थिए ।