काठमाडौं, साउन २ :

नेकपा एमालेको पोलिटब्युरो बैठक आज दिउँसो १ बजे बस्दैछ ।

हिजो सचिवालयको बैठक गए राती अबेरसम्म चलेपछि आज बस्ने पोलिटब्यूरो बैठक निर्धारित समयभन्दा पछि सारिएको हो । यस अघि आज बिहान ११ बजेका लागि पोलिटब्यूरो बैठक बोलाईएको  थियो ।

आज  बस्ने बैठकमा विधान संशोधन प्रस्तावमाथि छलफल हुने सो पार्टीले जनाएको छ । हिजो बसेको सचिवालय बैठकले विधानमा व्यवस्था गरेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।

विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने गरी छलफल भएको छ । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका बताईएको छ ।

हिजोको बैठकमा प्रथम विधान महाधिवेशनले गरेको निर्णय र दशौं राष्ट्रिय महाविधेशनको परिस्थितिबारे बोल्ने क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले तीन पटकसम्म विधान छापिएको प्रशंग उठाउँदा ओली र पोखरेलबीच नोकझोक भएको थियो ।

पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन पनि तपाईले नेतृत्व छोड्नुपर्छ भन्ने तर्क पोखरेलले बैठकमा गरेका थिए ।

हिजोको सचिवालय बैठकले दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।

सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीले पनि निर्णय गरेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशनमा प्रतिनिधि बन्न नपाउने देखिन्छ । पछिल्लो समय  पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले यस विषयमा  सार्वजनिक रुपमा नै चासो राख्दै आएकी छिन् ।