
काठमाडौं, साउन २ :
प्रधानमन्त्री केपी ओलीले श्रमविना प्रगति सम्भव नभएको तथा श्रमिकको सम्मानविना समृद्धि नहुने बताएका छन् ।
साउन १ गतेदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकामा खुसी जनाउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागु गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चालेका थियौं । त्यसमा अहिलेसम्म करिब २१ लाख श्रमिक आबद्ध भइसकेका छन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
साउन १ गतेदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १७ हजार ३०० बाट बढाएर १९ हजार ५५० रुपैयाँ बनाउने निर्णय भएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘श्रमिकलाई एक मुट्ठी भरोसा महत्त्वपूर्ण हुनेछ । जय श्रमिक, जय नेपाल ।’