रुकुम पश्चिम, साउन २ :

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका २ सिम्रुतु बजारनजिकै भित्री सडकखण्डमा जिप दुर्घटना भएको छ । दुर्घटनामा सातजना घाइते भएका  छन् ।

वडा नम्बर २ को बाँदरपानी, रुघा हुँदै खलंगा जाँदै गरेको लु.१ज ४११२ नम्बरको जिप शुक्रबार बिहान सिम्रुतु बजारनजिकै दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी (प्रहरी निरीक्षक) ऋषि पाठकका अनुसार घाइते हुनेमा जिप चालक त्रिवेणी २, सिम्रुतुका ३२ वर्षीय प्रेम खड्का, त्रिवेणी १ का ८४ वर्षीय ससे घर्ती, सोही ठाउँकै २० वर्षीया सरिता केसी, त्रिवेणी २ की २८ वर्षीया सुनीता केसी, २२ वर्षीया गीता ओली, मुसिकोट नगरपालिका १३ की ४० वर्षीया सपना परियार र मुसिकोट ५ की शिवकुमारी शर्मा छन् ।

घाइतेहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

जिप अनियन्त्रित भई सडकमै पल्टिएको थियो । जिपमा चालकसहित १० यात्रु थिए । घाइतेको अवस्था केहीको सामान्य र केहीको मध्यम रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिए । घाइतेहरुको हातखुट्टा र टाउकामा चोट लागेको बताएको छ ।