
भ्रष्टाचारको छानबिन र कारबाहीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितको टोलीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल पुगेर निवेदन दिएको हो । निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको बताए ।
भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियारजस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावी उनको भनाइ छ । ०४६ सालपछिको उच्चपदस्थ नेता, कर्मचारी र उनका आफन्तहरुसमेतको अनुसन्धान हुनुपर्ने माग गरेको उनले बताए ।
आफूहरुले कुनै पार्टी र व्यक्ति विशेष गरेर अनुसन्धान भन्दा पनि भ्रष्टाचार कहाँ-कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको उनको भनाइ छ । मन्त्रीहरु एक-अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलिरहेको पनि लिङ्देनले दाबी गरे ।
‘अहिले देशमा भ्रष्टाचार महामारीको रुपमा फैलिएको छ । भ्रष्टाचार नियन्त्रण र कारबाहीको जिम्मा लिएको अख्तियारजस्ता कार्यालयहरु, संवैधानिक अंगहरु कतिपय सन्दर्भमा निष्क्रिय, निष्प्रभावीजस्तो देखिएको सन्दर्भमा अख्तियारको ध्यानाकर्षण गराउन उजुरी दर्ता गराएका छौं,’ उनले भने, ‘अहिले भ्रष्टाचार कहाँ-कहाँ छ होइन, कहाँ छैन भनेर खोज्नुपर्ने परिस्थिति सिर्जना भएको छ । मन्त्रीहरु एक-अर्कामा कसले छिटो र धेरै कमाउने प्रतिस्पर्धा चलाइरहेका छन् ।’
अध्यक्ष लिङ्देनले भ्रष्टाचार प्रकरणमा राजनीतिक नेतृत्व छानबिनको दायराबाहिर पर्नुले आयोगको निष्पक्षता र प्रभावकारितामा गम्भीर प्रश्नहरु उठेको दाबी पनि गरे ।