लमजुङ, साउन ३ :

लगातारको वर्षाका कारण लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका १०९ जना कैदी र थुनुवालाई अन्यत्र सारिएको छ।

पर्खालसँगै प्रवेशद्वार पनि भत्किने अवस्थामा पुगेपछि सुरक्षा चुनौती बढेको भन्दै शनिबार कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरा स्थित कारागारमा स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिए। कारागारको पश्चिमपट्टि रहेको पर्खाल बुधबार अपराह्न पानी परिरहेकै बेला भत्किएको थियो।

कारागार प्रशासनका अनुसार स्थानान्तरण गरिएका १०९ मध्ये ६ जना महिला र १०२ जना पुरुष छन्। तीमध्ये दमौली कारागारमा ३१ जना र पोखरा कारागारमा ७८ जना पठाइएको हो। दमौली पठाइएकामध्ये ६ जना महिला छन्।

वि.सं. २०२८ सालमा निर्माण गरिएको बेंसीसहर कारागार ३५ जनाको मात्र क्षमता भए पनि पछिल्लो समय तीन गुणाभन्दा बढी कैदी–थुनुवा राखिँदै आएको थियो। कारागार जीर्ण बन्दै गएकाले पटक–पटक पर्खाल भत्किने घटना हुँदै आएका थिए।

यसपटक थप क्षति र सुरक्षाको जोखिम बढेपछि कैदी–थुनुवालाई स्थानान्तरण गरिएको र मर्मत नभएसम्म उनीहरू पोखरा र दमौलीमै रहने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए।