कास्की, साउन ३ :

पोखराको चर्चित लिची बगैंचा प्रकरणमा नाम जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीलाई छानबिन गरेर कारबाही गर्नुपर्ने माग नेकपा एमाले कास्कीले गरेको छ।

पोखरामा शनिबार बसेको पार्टीको विस्तारित बैठकले मन्त्री अधिकारीमाथि घुस लिएको अडियो सार्वजनिक भएकाले उनलाई राजीनामा गराएर अनुसन्धान गर्नुपर्ने निर्णय गरेको हो। यसअघि घुसकाण्डमा मुछिएका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन्।

एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले अडियोमा मन्त्री अधिकारीले ३२ लाख घुस लिएको कुरा खुलेको भन्दै छानबिन आवश्यक भएको बताए। उनले घुस प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताए।

पार्टीले उक्त प्रकरणमा मुछिएका सुजन लामाको सदस्यता हाललाई थाती राख्दै नवीकरण रोक्ने निर्णय गरेको छ। बैठकमा पार्टीका केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरू सहभागी थिए।