काठमाडाैं, साउन ३ :

नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण अहिले स्थगित (पेन्डिङ) अवस्थामा रहेको स्पष्ट पारेका छन्।

शनिबार सम्पन्न पोलिटब्युरो बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले भण्डारीको सदस्यता नवीकरणबारे पार्टीभित्र अहिलेसम्म कुनै निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए।

गौतमले भने, ‘ धारा ८ र ९ अनुसार अहिले नवीकरण पेन्डिङ अवस्थामा छ। स्वेच्छाले पार्टी परित्याग गरेको व्यक्तिको पुनः प्रवेश वा पार्टीले खटाएको व्यक्तिको पुनः प्रवेशको प्रक्रिया फरक हुने जनाउँदै यस विषयमा गम्भीर छलफल भइरहेको उनले बताए।

गौतमका अनुसार पोलिटब्युरो बैठकमा यसबारे विभिन्न कोणबाट छलफल भए पनि निष्कर्ष निकाल्न सकेको छैन। अब सम्भवत  स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठकमा निर्णय लिइने बताइएको छ।

सदस्यता नवीकरण नगरी किन रोकियो?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको सेवासुविधा त्यागेर एमालेबाट सक्रिय राजनीतिमा लाग्ने घोषणा गरेर त्यसै अनुरुप तयारीमा थिइन् ।  पुनः सक्रिय राजनीतिमा फर्कने संकेत दिँदै उनले आफैंले सदस्यता नवीकरण गरिसकेको दाबी गरेकी छन्। तर एमालेले भने सदस्यता नवीकरण प्रक्रिया अन्तिम टुंगोमा नपुगेको जनाउँदै विषय थाती राखेको छ।

यो अवस्थाले पार्टीभित्रै भण्डारीको पुनरागमनलाई सबैले खुलेर स्वीकार नगरेको संकेत मिलेको छ। सदस्यता नवीकरण प्रक्रिया अलपत्र पारिनु र औपचारिक निर्णयमा ढिलाइ हुनु पार्टीभित्रको असहजता र रणनीतिक सावधानी दुवैका संकेत हुन्।

के हो धारा ८ र ९?

पार्टी विधानको धारा ८ र ९ मा सदस्यताको नवीकरण र सदस्यता बहाली सम्बन्धी प्रावधानहरू छन्। विशेष अवस्थामा सदस्यता बहाल गर्ने अधिकार नेतृत्वसँग रहन्छ। यही जटिलताले गर्दा भण्डारीको पार्टी प्रवेश प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको देखिन्छ।

यसर्थ पूर्वराष्ट्रपति भण्डारीको एमालेमा पुनः प्रवेश अहिले अन्योलपूर्ण छ।  भण्डारी पक्ष र पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलनको समीकरण मिल्दा मात्रै नवीकरण प्रक्रिया औपचारिकता पाउने सम्भावना देखिन्छ।