काठमाडौं, साउन ४ :

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको रुपमा रहेका बेल्जियन प्याट्रिक डे वाइल्डले पदबाट  राजीनामा दिएका छन्।

उज्वेकिस्तानमा‌ एसियन कप छनोट प्रतियोगितामा खासगरी कप्तान छनोटका विषयमा डे वाइल्ड र व्यवस्थापनबीच चर्को विवाद भएको थियो । त्यसपछि यो घटनाक्रम सुरु भएको हो ।

उज्वेकिस्तानबाट नेपाली खेलाडी टोली स्वदेश फर्किएको थियो भने डे वाइल्ड बेल्जियम फर्केका थिए।

नेपाली  टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ मालेकु,सहायक प्रशिक्षक राजेन्द्र तामाङ,व्यवस्था विन्द्रा देवान लगायतले संयुक्त पत्रकार सम्मेलन गर्दै उज्वेकिस्तानमा  विकसित विवादमा  डे वाइल्ड जिम्मेवार रहेको आरोप लगाएका थिए।

त्यसपछि अखिल नेपाल फुटबल संघ एन्फाले उज्वेकिस्तानको घटना लगायतका विषयमा डे वाइल्डलाई स्पष्टीकरण सोधेको थियो।  स्पष्टीकरणमा  पुन नेपाल फर्केर टोलीमा आबद्ध हुने नहुने  एक साता भित्र जवाफ दिन पनि उनलाई पत्रमा सोधिएको थियो । तर उनले एक साता नपुग्दै एन्फालाई राजीनामा पठाएको हो ।

एक अन्तर्वार्तामा उनले उज्वेकिस्तानसँगको पेनाल्टी सुटआउटमा केही खेलाडी पेनाल्टी हान्न तयार नहुनु दबाबकै कारण भएको समेत वाइल्डले बताएका थिए। उनले त्यति बेला आफू फर्केमा खेलाडीका‌ लागि मात्र फर्कने समेत बताएका थिए।

एक वर्षका लागि एन्फासँग सम्झौता गरेका डे वाइल्डले एक महिना नै राजीनामा दिएका छन् । उनी नेपाली महिला टोलीलाई प्रशिक्षण दिने पहिलो प्रो लाइसेन्स प्राप्त प्रशिक्षक हुन्।