
पर्वत, साउन ४ :
मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् ।
आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा सदस्य सन्तोष विकले जानकारी दिएका छन् ।
अहिले स्थानीयले उद्धारकार्य जारी राखेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको र पुगिसकेपछि यथार्थ विवरण आउने जानकारी दिए । गएरातिदेखि पर्वत लगायत आसपासका क्षेत्रमा भीषण वर्षा भइरहेको छ ।
यस क्षेत्रका खोला तथा नदीहरूमा समेत बहाव उच्च भइरहेको छ । सो क्षेत्रमा स्थानीयलाई सतर्कता अपनाउन भनिएको छ ।