काठमाडौं, साउन ४ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गर्ने अध्यक्ष राजेन्द्र लिङ्देनको निर्णयविरुद्ध पार्टीका वरिष्ठ नेताहरू निर्वाचन आयोग पुगेका छन्।

गिरीले आफूलाई विधानविपरीत उपाध्यक्ष र केन्द्रीय सदस्य पदबाट हटाइएको भन्दै आयोगमा उजुरी दिएका हुन्। उनीसँगै महामन्त्री धवल शम्शेर राणा र अन्य नेताहरू पनि आयोग पुगेका थिए। प्रकाशचन्द्र लोहनी, हरि बस्नेत लगायतका नेताहरूले पनि अध्यक्ष लिङ्देनको निर्णयलाई मान्यता नदिन आयोगसँग माग गरेका छन्।यसअघि अनुशासन समिति संयोजक नवराज सुवेदीले पनि कारबाही अवैधानिक भएको भन्दै आयोगमा उजुरी दिएका थिए।

यसअघि कारबाहीको विरोध गर्दै कर्णाली प्रदेशका १६ जना नेताहरूले सामूहिक विज्ञप्ति जारी गर्दै निर्णय फिर्ता गर्न माग गरेका थिए। उनीहरूले गिरीलाई स्पष्टीकरणको अवसर नदिई एकल निर्णय गरिएको भन्दै आपत्ति जनाएका थिए।