
कोसी, वागमती, गण्डकी प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनले आगामी तीन दिन देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा वर्षा हुने बताइन् ।
‘विगत २४ घण्टामा कोसी, गण्डकी प्रदेशका थोरै स्थानमा धेरै भारीदेखि अति भारी वर्षा मापन भएको अवस्था छ । बाँकी कोसी, मधेस, वागमती, गण्डकी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा मापन भएको अवस्था छ । आगामी तीन दिनको मौसमको कुरा गर्ने हो भने देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा आजको लागि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन्, ‘आज दिउँसो कोसी, वागमती र गण्डकी प्रदेश र पहाडी भूभागमा भारी वर्षाको सम्भावना देखिएको छ । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको छ । हल्कादेखि मध्यम वर्षा सबै प्रदेशमा नै हुन्छ ।’
विगत चौबीस घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा
विगत चौबीस घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ । विगत चौबीस घण्टामा सय मिलिमिटरभन्दा बढी वर्षा मापन कोसी प्रदेशकै केही स्थान र गण्डकीका केही स्थान रहेको बताइन् ।
दैनिक वर्षा भइरहे थप सावधानी आवश्यक
उनले दैनिकजसो आफू बसेको स्थानमा वर्षा भइरहेको भए थोरै वर्षाले पनि प्रभावित बनाउनसक्ने चेतावनी दिइन् । नदीमा पानीको बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दाले थप सावधानी अपनाउनुपर्ने जरुरी रहेको बताइन् । सडक यातायात गर्दा विशेष सावधानी अपनाउन जरुरी रहेको उनको भनाइ छ । आफू बसेको स्थानमा बाढी र पहिरोको जोखिम छ कि छैन ? भनेर ध्यान दिन जरुरी रहेको पनि उनले बताइन् ।
‘मधेस प्रदेशमा आगामी दिनमा सुक्खा हुने अवस्था छैन’
धनुषास्थित जल तथा मौसम विज्ञान विभागको तुल्सी केन्द्रमा भारी वर्षा मापन भएको छ । विगत चौबीस घण्टामा तुल्सी केन्द्रमा ६६ मिलिमिटर वर्षा भएको छ । ६६ मिलिमिटर भारी वर्षा नै भएकाले मधेस प्रदेशमा धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ ।
मधेस प्रदेशमा आगामी दिनमा पनि सुक्खा हुने अवस्था नरहेको मौसमविद् कँडेलको भनाइ छ । आगामी केही दिनसम्मै मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र (आज) आइतबार राति भारी वर्षा हुने सम्भावना छ । झरी पर्ने सम्भावना नरहेको पनि उनले बताइन् । तराईमा खडेरी नै लाग्ने अवस्था नरहेको तर पर्याप्त पानी भने नपर्ने उनको जिकिर छ ।
देशव्यापी मज्जाले झरी पर्दैन
मनसुनी प्रणाली नेपालमा कसरी भित्रियो भन्ने हो । मनसुन भित्रिँदा पनि भित्रिनेबित्तिकै मज्जाले वर्षा हुने कुरा नरहेको कँडेल बताउँछिन् । मनसुन भित्रिँदा प्रि-मनसुन फिचर पनि देखिन्छ, मनसुन फिचर पनि देखिन्छ । जसले पूर्वतिर बढी वर्षा हुने स्थिति रहेको छ । उनका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालनजिक वा नेपालको दक्षिणी बोर्डरमा हुँदा देशव्यापी रुपमा मज्जाले झरी पर्ने, पूर्वदेखि पश्चिमसम्मै सिमसिम वर्षा हुने अवस्था रहने भए पनि यस वर्ष नेपालमा मनसुनको न्यून चापीय रेखा नेपालनजिकै आएर मज्जाले नेपालमा मनसुन पूर्ण रुपमा सक्रिय भएको अवस्था रहेको छ ।
अत्यावश्यकबाहेक लामो यात्रा नगर्न प्रधानमन्त्रीको आग्रह
अहिलेको वर्षा पनि मनसुनी वायुकै प्रभाव भएको उनले बताइन् । मनसुनी रेखा नेपालनजिकै आएका कारणले मधेसमा वर्षा भइरहेको कँडेलले बताइन् ।
‘मनसुनी रेखा नेपालनजिकै आएका कारणले मधेसमा वर्षा भइरहेको अवस्था छ । मनसुनी वर्षा विशेषगरी पहाडी क्षेत्रमा केन्द्रित हुनु भनेको नेपालको भूगोलको कारणले हो । जलवाष्पयुक्ता हावा आउँछ, त्यो पहाडमा ठोक्किसकेपछि माथिल्लो वायुमण्डलमा जाँदा बादल बन्छ र जहाँ बन्यो त्यहीँ पानी पर्दछ,’ उनले भनिन् । काठमाडौंमा पनि साधारणत: दिनभर मौसम बदली नै हुने अवस्था छ । वर्षाको सम्भावना प्रबल रहेको पनि मौसमविद् कँडेलको भनाइ छ ।