
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ललितपुरको च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालय पुगेकी छन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो राजनीतिक भूमिका र पार्टी सदस्यता नवीकरणबारे छलफल गर्न भण्डारी च्यासल पुगेकी हुन्।
एमालेमा सक्रिय राजनीतिमा फर्किने तयारीमा रहेकी भण्डारीको पार्टी सदस्यता हालसम्म पेन्डिङमा रहेको खबर सार्वजनिक भएपछि उनले अध्यक्ष ओलीसँग प्रत्यक्ष संवाद गर्ने निर्णयमा गरेकी हुन्। सदस्यता नवीकरण प्रक्रिया र पार्टीमा पुनः सक्रियताबारे दुई नेताबीच अहिले भेटवार्ता हुँदैछ ।
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको पदमा रहँदाको सेवासुविधा त्याग गरेर पार्टीमा फर्किन चाहेको इच्छा प्रकट गरेपछि एमालेभित्र यसको औपचारिक प्रक्रिया र राजनीतिक सन्देशबारे बहस चलिरहेको छ।
एमाले अध्यक्ष ओलीले सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन कार्यक्रममा भण्डारीसँग संवाद गर्ने र पार्टीको निर्णयअनुसार अघि बढ्ने बताएका थिए। ओली निकट नेताहरूका अनुसार, एमालेको सक्रिय राजनीतिमा फर्किन भण्डारीलाई सदस्यता प्रक्रियाले नै रोकिरहेको दाबी गरिएको छ।