
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता पहिल्यै नवीकरण भइसकेको स्पष्ट पारेकी छन् । आइतबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग च्यासलस्थित पार्टी कार्यालयमा करिब दुई घण्टा एक्लाएक्लै भेटवार्ता गरेपछि सदस्यता नवीकरणबारे खुलाएकी हुन् ।
तर हिजो पोलिटब्युरो बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण अहिले स्थगित (पेन्डिङ) अवस्थामा रहेको स्पष्ट पारेका थिए । ‘मैले पहिल्यै सदस्यता नवीकरण गरिसकेको छु, बाँकी कुरा आधिकारिक च्यानलमार्फत अघि बढ्छ,’ उनले भनिन्। अध्यक्ष ओली स्वयं भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्नुपर्ने पक्षमा देखिएपछि भण्डारी पार्टी मुख्यालय पुगेकी हुन्।
भेटपछिको संक्षिप्त पत्रकार भेटघाटमा भण्डारीले आफूले ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा मात्रै छलफल गरेको बताइन्। भेटका क्रममा दुई नेताबीच सौहाद्रपूर्ण र सकारात्मक बडी ल्याङ्ग्वेज देखिएको एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाले जानकारी दिएका छन्। ओली र भण्डारीबीचको भेट एमाले सचिवालय र स्थायी समितिमा भण्डारीको भूमिकालाई लिएर देखिएको मतभेदपछि भएको हो ।

अपराह्न तीन बजे तय भएको भेटमा ओली पूर्वराष्ट्रपतिभन्दा आधा घण्टा ढिला पुगेका थिए। भेटअघि दुवैले पार्टीका अन्य शीर्ष नेताहरूको उपस्थितिमा मिडियाका लागि तस्बिर खिचाएका थिए ।
भेटपछि ओली सिधै पार्टी कार्यालयबाट बाहिरिए भने भण्डारी सञ्चारकर्मीहरूसँग बोल्न केही बेर पर्खिएकी थिइन्। तर, प्रहरी र सञ्चारकर्मीबीच समन्वय नहुँदा उनी पनि कुनै विस्तृत धारणा नदिई बाहिरिएकी हुन्।
थापाका अनुसार, भेटमा पछिल्ला समसामयिक राजनीतिक विषयमा गम्भीर र सौम्य छलफल भएको छ, यद्यपि छलफलका विशेष विषयवस्तु भने सार्वजनिक गरिएको छैन।