
इजरायली सेनाले आइतबार गाजाभर गरेको आक्रमणमा कम्तीमा १ सय १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ । उनीहरुको मृत्यु खाद्य सहायता पर्खिरहेका बेला भएको हो।
यो घटना मे महिनापछि राहत खोज्ने नागरिकहरू माथिको सबैभन्दा घातक घटनामध्ये एक मानिएको छ।
दर्जनौँ प्यालेष्टिनीहरु घाइते भएका त्यहाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
यसैबीच उत्तर गाजाको जिकिम क्रसिङ नजिक राहत लिन भेला भएका भिडमाथि इजरायली आक्रमण हुँदा कम्तीमा ६७ जनाको मृत्यु भएको छ । दक्षिण गाजामा छुट्टै वितरण केन्द्र नजिक थप ६ जनाको हत्या भएको छ भने त्यसअघि पनि राहत वितरण केन्द्रमा ३६ प्यालेष्टीनी मारिएका थिए।
यो संख्यासंगै मे महिनादेखि राहत पाउन प्रयास गर्दा मारिनेहरूको सङ्ख्या ९ सय नाघेको छ।
संयुक्त राज्य अमेरिकाको समर्थम गाजा ह्युमनिटेरियन फाउन्डेसनले गाजामा राहत वितरण गर्दै आएको छ ।
गाजाको मन्त्रालयले गाजामा चरम भोकमरी बढ्दै गएको चेतावनी दिएको छ । भोकमरीले गर्दा सयौं मानिसहरुमा कुपोषण देखिएको छ । संयुक्त राष्ट्रसंघले पनि गाजामा नागरिकहरू भोकमरीको चपेटामा परेको भन्दै तुरुन्त अत्यावश्यक सामग्री पुर्याउन आह्वान गरेको छ।
आइतबार मन्त्रालयले पछिल्लो २४ घण्टामा भोकमरीका कारण गाजामा १८ जनाको मृत्यु भएको जानकारी दिएको छ।