काठमाडौं, साउन ५ :

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज ११ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पार्टी विधानका विषयमा छलफल गरिनेछ ।  

बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदा प्रस्तुत गरिने सो पार्टीले जनाएको छ । विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेछन् । 

बैठकको सुरुमा पार्टीका अध्यक्ष  केपी शर्मा ओलीले समसामयिक राजनीतिक बिषयमा,सरकारको एकवर्ष र पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयका बारेमा मन्तव्य राख्ने कार्यक्रम छ ।

यसैगरी महासचिव शंकर पोख्रेलले साँगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्ने छ ।

प्रस्तावित विधानका बिषयमा बोल्न चाहने केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसुची रहेको छ  ।

सचिवालय,स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले उपल्ला कमिटीमै धारणा राखिसकेका कारण केन्द्रीय सदस्यहरूले मात्र आजको बैठकमा बोल्ने अवसर पाउनेछन् ।

बैठक आज र भोलीमा सक्ने भनिए पनि सबै सबै केन्द्रीय सदस्यहरूले धारणा राख्ने समय लिएमा अरु केही दिन लम्बिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा एमालेको विधान महाधिवेशन हुदैछ ।