
रसुवामा चीनतर्फबाट गत असार २३ मा आएको बाढी-पहिरोबाट क्षति पुर्याएको भन्दै बिमितहरुले २९ करोडको बिमा दाबी गरेका छन् ।
बिमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इस्योरेन्ससहित ९ कम्पनीले २८ करोड ९२ लाख रुपैयाँको दाबी गरेका हुन् ।
बिमा प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा १० वटा दाबी परेका छन् । शिखरमा १६ करोड १२ लाख रुपैयाँको दाबी गरिएको छ ।
नेको इन्स्योरेन्समा ३ वटाको ५ करोड १२ लाख रुपैयाँको माग दाबी गरिएको छ । सगरमाथा लुम्बिनी इस्योरेन्समा दाबी संख्या सात छ । माग दाबी रकम तीन करोड ४१ लाख रुपैयाँ छ । त्यस्तै, सानिमा जीआईसी लिमिटेडमा ६ वटा माग दाबी परेको छ । जसमा ७७ लाखको माग दाबी परेको छ । अर्को आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा ९ वटा दाबी परेका छन् । जसमा ७५ लाख ५० हजार रुपैयाँको माग दाबी परेको छ ।
युनाइटेड अजोड इन्स्योरेन्समा तीनवटा मागदाबी परेका छन् । जसमा ६८ लाख बराबरको माग दाबी रकम छ ।
एनएलजी इन्स्योरेन्समा ६ वटा माग दाबी परेका छन् । जसमा ४७ लाख रुपैयाँ बराबरको माग दाबी परेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ७ वटा माग दाबी परेको छ । जसमा माग दाबी रकम ३१ लाख रहेको बिमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
कुल ६३ माग दाबीमध्ये सामुद्रिक बिमातर्फ हेर्ने हो भने ६ वटा दाबी परेको छ । इन्जिनियरिङ तथा ठेकदार जोखिमतर्फ ४ वटा, सम्पत्ति बिमातर्फ १० वटा, मोटर बिमा (सार्वजनिक) तर्फ ३२ वटा, मोटरबिमा निजीतर्फ ११ वटा मागदाबी परेको बिमा प्राधिकरणले जनाएको छ ।
रसुवामा आएको बाढीले नेपाल-चीन जोड्ने पुल बगाएको थियो । जसकारण दुई सातादेखि रसुवागढी हुँदै चीनतर्फको व्यापार प्रभावित भएको छ । बाढीले ड्राइपोर्टका साथै सवारीसाधन, कन्टेनरसमेत बगाउँदा ठुलो क्षति भएको थियो ।