कास्की, साउन ५ :

गण्डकी प्रदेशमा झन्डै दुई वर्षपछि कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ। पोखराको चरक अस्पतालमा उपचार गराइरहेकी ७० वर्षीया महिलाको साउन ४ गते मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। असार २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। मृत्यु हुने व्यक्तिमा उच्च रक्तचाप र मधुमेह (सुगर) पनि थियो।

स्वास्थ्य अवस्था झन् गम्भीर बन्दै जाँदा उनको मृत्यु भएको निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए। उनको पीसीआर परीक्षण गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो।

पछिल्लो समय गण्डकीमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। हाल कास्कीमा ५ जना, बागलुङमा २ जना र स्याङ्जामा १ जना गरी जम्मा ८ जनामा कोरोना देखिएको छ।