काठमाडौं, साउन ५ :

महोत्तरीको महोत्तरी गाउँपालिका-१, पर्साका ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा धनुषा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । शनिबार राति जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहारी गरी एक तलाबाट खसालेर यादवको हत्या भएको थियो ।

हत्या गरेको आरोपमा महोत्तरीकै बलवा नगरपालिकाकी २२ वर्षीया युवती जुली झालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिए । 

झालाई महोत्तरीको परोलस्थानबाट पक्राउ गरिएको हो । आर्थिक लेनदेख र विवाहेत्तर सम्वन्धका कारण यादवको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

उनका अनुसार झाले यादवलाई छुरा प्रहारी गरी पहिलो तलाबाट खसालेर घाइते बनाएकी थिइन् । यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याए पनि उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

उनले भने, अनुसन्धानको क्रममा होटलको सीसीटीभी फुटेजमा महत्वपूर्ण प्रमाण भेटिएको छ । फुटेजमा मृतक यादव राति करिब १० बजे होटलमा प्रवेश गरेको देखिन्छ ।