
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा बोल्ने सदस्यहरुले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले यस्तो धारणा राखेको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनकाअनुसार पार्टी केन्द्रीय सदस्यहरुले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरुमा सहमति जनाएका छन् ।
बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठानिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका गरेका थिए। त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरुले बोल्ने क्रम सम्पन्न भएको गौतमले बताए।
उनले भने, ‘गण्डकी, मधेस प्रदेश र उपत्यका कार्यक्षेत्र भएका केन्द्रिय सदस्यहरुले आफ्नो राय राखिसक्नुभएको छ । पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रश्ताव गरेको सबै विषयहरुमा केन्द्रिय सदस्यहरुले सहमति जनाएर आफ्नो कार्यक्षेत्रसँग सम्बन्धीत केही सुझाव पेश गर्नुभएको छ । पूर्वराष्ट्रपति विद्यादेवि भण्डारीको पार्टी प्रवेशको विषयलाई उहाँले गम्भीरताका साथ लिनुभएको छ । केन्द्रीय सदस्यहरुले पनि यस विषयमा एउटा राजनीतिक निर्णय गर्ने कुरामा जोड दिनुभएको छ ।’
बैठकमा नेताहरूले बोल्ने क्रम जारी छ । मंगलबारसम्म चल्ने बैठकमा प्रत्येक केन्द्रिय सदस्यलाई ३-३ मिनेट बोल्ने समय दिइएको छ ।