कन्चनपुर, साउन ५ :

घुस लिएको रकम सहित डिभिजन वन कार्यालय धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको टोलीले आज उनलाई नियन्त्रणमा लिएको हो ।

चुरे गाउँपालिका–६ ग्वासी सामुदायिक वनको घाटगद्दी गरेको काठको बिमर्का र छोडपुर्जीका लागि सेवाग्राहीसँग यादवले घुस मागेको उजुरी अख्तियारको कार्यालयमा परेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा जनाईएको छ ।

सोही उजुरीका आधारमा खटिएको अख्तियारको टोलीले  सात लाख ३१ हजार घुस लिइसकेको अवस्थामा यादवलाई रकमसहित डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका यादवमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।