काठमाडौं, साउन ६ :

नेकपा एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज पनि बस्दैछ ।  

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजे बस्ने कार्यक्रममा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहनेछ ।  हिजोको बैठकमा गण्डकी,मधेस र सम्पर्क समन्वय कमिटीबाट प्रतिनिधित्व गर्ने ४९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका छन् ।

आजको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा जारी रहने एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

पार्टीको सचिवालय र पोलिटब्युरो बैठकले पारित गरेर केन्द्रीय कमिटीमा पठाएको विधान संशोधन सम्बन्धि प्रस्तावमा आज पनि छलफल जारी रहने सो पार्टीले जनाएको छ ।

बैठकमा धारणा राख्नका लागि  केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइनेछ ।

हिजोको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार भएको भेटघाट,समसामयिक राजनीतिक विषयवस्तु र सकारको एक वर्षे कार्यकालको उपलब्धि बारे बैठकलाई जानकारी गराएका थिए  ।

हिजोको बैठकमा उपाध्यक्ष विष्णु पौडेलले सचिवालय र पोलिटब्युरोबाट पारित भएको विधान संशोधन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

यसैगरी  महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गरेका थिए । 

 प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकपछि समसामयिक प्रस्तावहरू सहितको घोषणापत्र जारी गर्दै आजै बैठक सकिने  छ ।